दाङको बबईमा अझै मतदान सुरु हुन सकेन

काठमाडौं – दाङको निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको बबई गाउँपालिका-१ को केही मतदान केन्द्रमा अझै मतदान सुरु भएको छैन । वन्य जन्तु प्रभावित स्थानीयले ‘नो-भोट’ भन्दै आएका छन् । केही स्थानीयले समानुपातिक तर्फको मतदान गर्न सकिने बताएका छन् ।

यो क्षेत्र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो । वन्यजन्तु र मानिस बिचको बढ्दो द्वन्द्वका कारण स्थानीयले पुर्नवास अर्थात् बस्ती स्थानान्तरण माग गर्दै आएका छन् ।

यहाँका स्थानीय मतदाताले जसले आफूहरूलाई वन्य जन्तुबाट सुरक्षित वा अन्यत्र स्थानान्तर गर्न भूमिका खेल्छ उसैलाई मात्रै मत दिने र अन्यथा मतदानमै सहभागी नहुने बताउँदै आएका छन् ।

राज्यले हामी माथि अन्याय गरेको छ त्यसैले हामीलाई न्याय नपाउने भएपछि हामी मतदानमा सरिक नभएको स्थानीयहरूले बताएका छन् । वडाध्यक्ष प्रेमबहादुर डाँगीका अनुसार बबई-१ को जिलामा मतदाताले नो भोट भनेपछि मतदान सुरु हुन नसकेको बताए ।

निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीका अनुसार वडा नं १ को जिला मतदान केन्द्रमा ८८२ मतदाता छन् । सिंजालीका अनुसार ‘अहिले पनि छलफल जारी छ,’ ‘स्थानीय दलका प्रतिनिधि र सर्वसाधारणलाई सम्झाइ बुझाइ गर्ने प्रयास भई रहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *