प्रतिनिधिसभा निर्वाचन : कुन शीर्ष नेताको कति मत अग्रता ?

काठमाडाैं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना जारी छ । मतगणना भइरहँदा शीर्ष नेताहरूमध्ये नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले मात्र अग्रता लिइरहेका छन् ।

देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ६ हजार १०३ मतले पछि पारेका छन् । १४ हजार ६ सय ८५ मत गणना भइरहँदा बालेनले १० हजार १९० मत पाएका छन भने ओलीले ४ हजार ०८७ मत मात्रै प्राप्त गरेका छन् ।

रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले ३ हजार ६ सय ६९ मतसहित अग्रता लिएका छन् । उनी पछाडि नेकपा कांग्रेसकी कुसुमदेवी थापाले १ हजार २९ मत प्राप्त गरेका छन् ।

यस्तै चितवन २ बाट रास्वपाका सभापति रवि लामिछानेले ३ हजार ९६३ मतसहित अग्रता बनाएका छन् । नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ९४७ मत पाएका छन् । अर्को चर्चित निर्वाचन क्षेत्र भक्तपुर २ मा एमालेका सचिव महेश बस्नेतलाई १ हजार ८ सय १९ मतले पछाडि पार्दै रास्वपाका राजीव खत्री ४ हजार ०८४ मतले अघि छन् ।

नेपाली कांग्रेसका सभापति गगन थापाको निर्वाचन क्षेत्र सर्लाही ४ मा भने मतगणना शुरु हुन बाँकी छ । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपालको रौतहट क्षेत्र नम्बर १ र झलनाथ खनालको इलाम क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्रको मतगणना शुरू हुन बाँकी छ ।

मतगणना जारी रहेका क्षेत्रमध्ये ४६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् भने एमाले ५, कांग्रेस ४, नेकपाका उम्मेदवारले २ र राप्रपाका ज्ञानबहादुर शाहीले ८५ मतसहित १  स्थानमा अग्रता लिइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *