बन्द हुँदैछ अलेक्सा, यस्ताे छ महत्व


काठमाडौं – अमेजनको सहायक कम्पनी अलेक्सा बन्द हुने भएको छ । व्यावसायिक वेब ट्राफिक आँकडा र वेब विश्लेषण सेवा प्रदान आएको अलेक्सा स्थापनाको २५ वर्षपछि बन्द हुन लागेको हो ।

अलेक्साले वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरुको मापन गर्ने गर्छ । त्यसैका आधारमा कुन देशमा कुन वेबसाइट कति नम्बरमा छ र विश्वमा कति नम्बरमा छ भन्ने जानकारी लिन सकिन्थ्यो ।

त्यतिमात्रै नभएर यसले कुनैपनि वेबसाइटको एसईओ, अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटासमेत उपलब्ध गराउँदै आएको छ । तर, अब भने अमेजनले यसलाई बन्द गर्ने भएको छ । कम्पनीका अनुसार सन् २०२२ को मे महिनाबाट यो पूर्णरुपमा बन्द हुनेछ ।

‘हामीले आजभन्दा २५ वर्षअघि अलेक्सा इन्टरनेटको सुरुवात गरेका थियौ,’ अमेजनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई दशकभन्दा बढी तपाईंहरुलाई सेवा दिन पाउनु एक महत्वपूर्ण अवसर थियो । तर, अब भने हामी यसलाई बन्द गर्दैछौं । जुन हाम्रा लागि एकदमै कठिन निर्णय हो । यो आउँदो मे १ तारिखबाट पूर्णरुपमा बन्द हुनेछ ।’

अलेक्सालाई सन् १९९६ मा एक स्वतन्त्र कम्पनीको रूपमा स्थापना गरिएको थियो । सन् १९९९ मा २५ करोड अमेरिकी डलरमा अमेजनले यसको स्वामित्व खरिद गरेको थियो ।

अलेक्सा र्‍यांकिङ एकैसाथ लोकप्रिय र विवादास्पद छ । अहिले धेरै अनलाइन व्यवसायमा वेब ट्राफिकलाई महत्व दिँदा अलेक्साको प्रभाव बढेको हो । तर यसबाट आउने नतिजामा भने धेरैले प्रश्न उठाउने गर्छन् । अहिले बजारमा अलेक्साको विकल्पमा अन्य थुप्रै सेवा पनि भित्रिएका छन् ।

प्रतिक्रिया