फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साविकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।

यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतीय आयल निगमले फागुन ४ मा निगमलाई पेट्रोल रु ५.६१, डिजेल रु ५.६२ ले तथा हवाई इन्धन रू ४.९५ ले बढाएर मूल्यसूची पठाएको थियो ।

यस अनुरूप १५ दिनमा करीब रू २ अर्ब ४० करोड घाटा हुने अवस्थामा निगमको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार मूल्य वृद्धि गरिएको हो । निगमले एलपी ग्यासमा प्रति सिलिन्डर रू. ५६०.७४ घाटा हुँदा समेत हाललाई बिक्री मूल्य नबढाई यथावत नै राखिएको जनाएको छ ।

साथै हवाई इन्धनको विक्री मूल्य पनि हाललाई यथावत राखिएको छ । मूल्य समायोजनपछि निगमको १५ दिनको घाटा करिब रू २ अर्व ४० करोडबाट करिब रू २५ करोडले घटी करीब रू २ अर्ब १५ करोड हुने बताइएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करीब रू २४ अर्व नोक्सानी व्यहोरिसकेको छ ।

पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई थप कठिनाई हुने देखिएको पनि निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया