घट्यो इन्धनको मुल्य


काठमाडाैं – नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मुल्य घटाएको छ । गएराति एक बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनकाे मुल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको हो । निगमले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटाएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको मुल्य लिटरको १५५ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १४४ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यस क्षेत्रमा अब पेट्रोलको मुल्य १५७ रूपैयाँ प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेल १४६ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको मुल्य १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ भने त्यस्तै डिजेल र मट्टीतेल १४७ रूपैयाँ पर्नेछ ।

त्यस्तै हवाइ इन्धन आन्तरिकमा निगमले प्रतिलिटर ६ रूपैयाँ घटाएको छ । अन्तर्राष्ट्रियमा भने प्रति किलोलिटर अमेरिकी डलर ४५ कम गरेको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ ।

 

 

प्रतिक्रिया