स्थानीय १२ जनालाई साथ लिएर चिनियाँ टोलीले दैलेखमा ‘ड्रिलिङ सर्भे’ सुरू


दैलेख – दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरू भएको छ । दैलेखको भैरवी गाउँपालिका-१ जलजलेमा ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट ल्याएसँगै काम सुरू भएको हो ।  विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरू गरिएको थियो ।

तत्कालका लागि चिनियाँ टोलीसँगै स्थानीय १२ जनालाई साथ लिएर अन्वेषण परियोजनाले काम सुरू गरेको छ । काम अघि बढेपछि थप स्थानीयले रोजगारी पाउने परियोजनाले जनाएको छ । त्यसका लागि नेपालगञ्ज नाका रुपैडियामा रोकिएका ठूला उपकरण ल्याउन थालिएको छ । ती उपकरण राख्ने फाउण्डेशन तयारी भइसकेको छ । मेशिन चीनबाट कलकत्ता हुँदै अन्वेषण स्थलमा ल्याइएको हो ।

शनिवार बेलुकी उपकरण बोकेको तीन वटा ट्रक दैलेख आएसँगै दैनिक तीन चरण समय मिलाएर काम शुरु गर्न लागिएको अन्वेषण परियोजनाले जनाएको छ । अब अन्तिम परिणाम सहितको अन्वेषण भएकाले दैलेखमा कति क्षमता अर्थात भण्डारणको पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्ने र गहिराइ पनि मापन हुने भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले बताए ।

ड्रिलिङ हुने ठाउँमा फाउण्डेशनलगायत सबै तयारी पूरा भएको र मेशिन आइपुगेपछि ड्रिलिङको काम सुरु हुने उनको भनाइ छ । उनका अनुसार ड्रिलिङ भएको चारदेखि पाँच महिनाभित्र अन्वेषणको काम सकिनेछ ।

प्रतिक्रिया