स्कुलभित्रै २ शिक्षिकाको छुरा प्रहार गरेर हत्या, एक विद्यार्थी पक्राउ

स्टकहोम – स्विडेनमा एक माध्यमिक विद्यालयका दुईजना शिक्षिकाको छुरा प्रहार गरेर हत्या भएको छ । दक्षिणी स्विडेनको माल्मो प्रान्तको माध्यमिक विद्यालयमा ५० वर्ष नाघेका दुई शिक्षिकाको छुरा प्रहारबाट हत्या भएको स्थानीय प्रहरीले जनाएको छ।

शिक्षिका हत्याको आरोपमा एक १८ वर्षका विद्यार्थी पक्राउ परेका पनि खबरमा उल्लेख छ । घटना भएको १० मिनेटमै प्रहरी विद्यालयमा पुगेको र हत्याको आरोपमा एक विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा बञ्चरो र चक्कु भेटिएको प्रहरीले जनाएकाे छ । हत्याको आरोप लागेका विद्यार्थी आफैँले प्रहरीलाई फोन गरेर बोलाएको र हत्या गरेको स्वीकारेको खबरमा उल्लेख छ ।

आक्रमणको बेला शिक्षक र विद्यार्थी गरी ५० जना भवनमा रहेका थिए । घटनापछि विद्यालयको भवन खाली गरिएको र आतङ्ककारी हमलाको कुनै सङ्केत नमिलेको प्रहरीले जनाएको छ । स्विडेनकी प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले देशमा निकै दुःखद घटना भएको भन्दै सबैलाई शान्त रहन आग्रह गरेका छन् । बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *