‘बर्थडे गिफ्ट’का लागि एकैपटक ३५ महिलासँग प्रेम
टोकियो – जापानका एक ३९ वर्षीय पुरुषलाई जन्मदिनको महङ्गा उपहारका लागि ३५ जना माहिलासँग एकैपटक प्रेम सम्बन्धमा रहेर ठगीको प्रयास गरेकामा पक्राउ गरिएको छ । सयौँ पाउन्ड बराबरको उपहार प्राप्त गर्नका लागि उनले त्यस्तो गरेको खुलासा भएको छ ।
ताकाशी मियागावा नामक ती व्यक्तिले प्रत्येक महिलालाई आफ्नो फरक जन्मदिनको मिति दिँदै आफू गहिरो सम्बन्धमा बाँधिन चाहेको भनेर फसाएका थिए । यस्तोमा उनले ती सबै महिलाहरु बाट झनडै १ लाख जापानी येन भन्दा धेरैको उपहार प्राप्त गरेको र साथै ३० हजार येनको सुट पनि हात पारेको बताइएको छ ।
तर ती महिलाहरुले बिस्तारै उनको स्क्यामबारे थाहा पाएर एउटा संगठन निर्माण गरि फेब्रुअरीमा प्रहरीका उजुरी दिएका हुन् । अहिले उनलाई ठगीको आरोपमा पक्राउ गरिएको छ ।
उनले ४७ वर्षकी एक महिलालाई आफ्नो जन्मदिन २२ फेब्रुअरी हो भनेका थिए, अर्की ४० वर्षीयालाई जुलाइमा र अर्को एकजनालाई चाहिँ अप्रिलमा भनेका थिए । जबकी उनको वास्तविक जन्मदिन १३ नोभेम्बरमा भएको बताइएको छ ।
स्थानीय रिपोर्टका अनुसार मियागावाले ती महिलाहरुलाई मार्केटिङ कम्पनीका लागि काम गर्दा भेटेका थिए । एक पीडीत महिलाले भनेकी छन्, “मैले उनलाई गम्भीर हुने भए मात्र म सम्बन्धमा बस्ने भनेकी थिएँ । यसको जवाफमा उनले ‘म तिमीसँग मेरो बाँकी जीवन बिताउन चाहान्छु म वास्तवमै गम्भीर छु’ भनेका थिए ।’
एमबीएस न्युजले प्रकाशित गरेका तस्बिरहरुमा मियागावा विभिन्न महिलाहरुसँग रेस्टुरेन्टमा अनि पार्कमा घुम्न गएको देख्न सकिन्छ । एउटा तस्बिरमा चाहिँ उनी केकका साथ पनि देखिएका छन् जसमा ‘ह्यापी बर्थडे’ लेखिएको थियो । एजेन्सी