माओवादी, एकीकृत समाजवादी र जसपाले १५ दिनभित्रै मोर्चा बनाउने
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको मोर्चा बन्ने बताएका छन् ।
आज (आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिनभित्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका बीचमा मोर्चा बन्ने बताएका हुन् । उनले मोर्चाले सकारात्मक रुप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको बताए । उनले आफूहरु पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उनले उल्लेख गरे ।
उनले भने, ‘अब हामी १०-१५ दिन भित्रै नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जसपाको बिचमा मोर्चा बनाउँदै छौं । सकारात्मक रुप लियो भने यो एकतासम्म जानसक्ने सम्भावना छ । त्यो ठाउँमा हामी पुगेका छौं । अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौं । अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौं ।’