संसदीय समितिका सभापति चयनका लागि शीर्ष नेताहरुबीच सहमति


काठमाडौं – तीन दलका शीर्ष नेताहरुबीच संसदीय समितिको सभापति चयन प्रक्रिया अघि बढाउने सहमति भएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको सभामुखसहितको शीर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताए ।

उनले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील र स्तरीय बनाउनेबारे पनि छलफल भएको बताए । घिमिरेले संसदीय समितिका सभापति चयन गर्नेकुरामा तीन दलका नेताहरु गम्भीर भएको बताएका छन् ।

‘संसदीय गतिविधिलाई कसरी अलि प्रभावकारी, गतिशील, स्तरीय बनाउनेबारे छलफल भयो । त्यसमा पनि लामो समयदेखि संसदीय समितिहरुको नेतृत्व ज्येष्ठ सदस्यबाट भइरहेको छ, त्यो परिस्थितिलाई तुरुन्त अन्त्य गर्नुपर्छ, त्यसमा सल्लाह सुझाव मागेँ, चुनाव गर् भन्नुहुन्छ की सहमति गर्नुहुन्छ, त्यसमा तत्काल भएन भने मैले आफ्नो स्टेप चाल्नु पर्नेछ भनेर भनेँ’, उनले भने, ‘मूलतः संसदीय गतिविधिलाई प्रभावकारी पार्नका लागि छलफल भयो । उहाँहरु गम्भीर हुनुभएको छ, तुरुन्त समाधान गर्ने भनिएको छ ।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटोभन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया