माैसमजन्य विपद्‍मा परी १ सय ९३ जनाको मृत्यु


काठमाडौं – अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म एक सय ९३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा तीन जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा एक सय ९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना गरी जम्मा दुई सय ४१ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्‍चिम प्रदेशमा पाँच जना गरी जम्मा एक सय १४ जनाको उद्दार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई जना, मधेश प्रदेशमा एक जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्‍चिम प्रदेशमा एक जना गरी ४९ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । तीन सय ३३ वटा घर, एक सय १६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । आठ सय ७० वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट चार हजार आठ सय ४२ घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया