मनसुनी वायुको प्रभाव : तीन दिनसम्म पानी पर्ने सम्भावना


काठमाडाैं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले आउँदो तीन दिनसम्म देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरु तथा बाँकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

गएराति र बिहान बर्दियाको दौलतपुर, कैलालीको बचिला र कचिला,सर्लाहीको पत्थरकोट, उदयपुरको सुन्दरपुर, सिन्धुपाल्चोकको नाकोटे, कैलालीको टीकापुर र म्याग्दीको मङ्गलघाट क्षेत्रमा ठूलो पानी परेको छ ।

यसैबीच वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढेपछि कैलालीको कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्ती डुबानमा परेको छ । बस्तीका एक सय २६ जनामध्ये १९ घरधुरीका एक सय १६ जना आफ्नै घरको माथिल्लो तलामा तथा आफन्तको घरमा सुरक्षित साथ बसेका र पाँच परिवारका १० जनालाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया