कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडाैं – अहिले गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर मौसम आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज राति कोशी प्रदेशको केही ठाउँ तथा बाँकी प्रदेशका पहाडी भागका थोरै ठाउँ र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया