देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना


काठमाडाैं – आज देशका धेरै ठाउँमा सामान्य बदली र केही ठाउँमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकोले ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

न्यूनचापीय रेखा उत्तर अर्थात् नेपालतर्फ सर्दा ठूलो पानी पर्ने सम्भावना रहन्छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही बाँकी प्रदेशको पहाडी भू-भागका केही ठाउँमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना छ ।

राति पहाडी भू-भागका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहे पनि बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । भोलि रातिदेखि भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया