पाँचथरमा विस्फोट : दुई जना बालबालिकाको मृत्यु, थप शङ्कास्पद वस्तु फेला


पाँचथर – पाँचथरको फालेलुङ-५ मा विस्फोट हुँदा घाइते भएका चार जनामध्ये दुई जना बालबालिकाको मृत्यु भएको छ। हिजो दिउँसो भएको विष्फोटमा स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र अढाई वर्षकी छोरी प्रिन्सा साँवा गम्भीर घाइते भएका थिए ।

उनीहरुको पाँचथर अस्पतलामा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि झापा रेफर गरिएको थियो । थप उपचारको लागि झापातर्फ लैजाँदै गर्दा प्रिन्साको राति बाटोमै मृत्यु भएको र ११ वर्षीय दिप्सनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए ।

९ वर्षीय पवन राईको पाँचथर अस्पतालमा नै उपचार भइरहेको छ । घटनामा ७ वर्षीय दिपशा राई सामान्य घाइते भएकी र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । बालबालिका खेलिरहेका बेला ठूलो आवाजमा केही पड्किएको सुनेपछि भेला भएका स्थानीयबासिन्दाले बालबालिकालाई घाइते अवस्थामा भेटेका थिए।

घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रमुख भण्डारीले बताए । घटनास्थलमा अर्को एउटा शङ्कास्पद वस्तुसमेत भेटिएकाले डिस्पोजका लागि आज बिहान नेपाली सेनाको टोली त्यसतर्फ गएको पनि भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया