झापामा जंगली हात्तीको उदण्ड, स्थानीय त्रसित

विर्तामोड – झापामा दैनिकजसो हुने जंगली हात्तीको आक्रमणका कारण स्थानीय समस्यामा परेका छन्। आहाराको खोजीमा निस्किएका जंगली हात्तीको बथानले स्थानीयको ज्यान समेत लिने गरेको छ। जंगली हात्तीको कारण वन क्षेत्र आसपासका स्थानीय त्रासमा छन्।

बुधबार मध्यराति चारआली जङ्गलबाट निस्किएका सातवटा हात्तीले बिर्तामोड नगरपालिका-८ देउनियाँस्थित गौतम राइस मिल भत्काइदिएका छन्। हात्तीले मिलको पर्खाल भत्काउँदै मेसिनरी औजारमा समेत क्षति पुर्‍याएको मिल सञ्चालक अनिल गौतमले जानकारी दिए।

हात्तीले मिलभित्र रहेको धान र मकै खाएर नष्ट गरिदिएको छ। हात्तीले करिब १ लाख ४१ हजार मूल्य बराबरको क्षति पुर्‍याएको गौतमको भनाइ छ। चारआली जङ्गलबाटै निस्किएको हात्तीले गाउँमा कसैको न कसैको घरमा क्षति पुर्‍याउँदै आएको स्थानीयको भनाइ छ।

हात्तीले पवित्रा आचार्य, देवराज उप्रेतीको धान खेतमा क्षति पुर्‍याएको छ। लक्ष्मी घिमिरेको ग्वाली र केशव घिमिरेको घर र शौचालय हात्तीले भत्काएको छ। हात्ती नियन्त्रण तथा रोकथामका लागि सरकारसँगै ठोस योजना नहुँदा स्थानीय वर्षौंदेखि पीडित बनेका छन्। जंगली हात्तीको आक्रमणमा मङ्गलवार मात्रै एक ८० वर्षीया वृद्धको ज्यान गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *