देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ


काठमाडौं – प्रहरीले देशका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १० जना पक्राउ गरेको छ। काठमाडौं,मोरङ,कैलाली र चितवनमा ठूलो परिणामको लागुऔषधसहित १० जना पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागुऔषध गाँजा १ केजीसहित दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-४ बस्ने २४ वर्षीय राजु तामाङ र धादिङ नेत्राबती नगरपालिका-१ बस्ने १९ वर्षीय नवराज गुरुङ रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको लु।२ ख २१४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको रंगेली नगरपालिका-२ चेका खोलास्थित बाँसघारीबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५० केजीसहित दुईजनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया ठिङ्गापुर पञ्चायत-६ कुवाडी बस्ने २९ वर्षीय दिपक झा र भारत अररिया हाँसा पञ्चायत बस्ने ३० वर्षीय सिन्टुक कुमार सिंह रहेका छन् ।

प्रहरी चौकी अमाहिवरियाती र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा रंगेली नगरपालिका-३ रंजनी बस्ने ४६ वर्षीय वीरबहादुर कार्कीको घर नजिक रहेको बाँसघारीमा लुकाई राखेको अवैध लागूऔषध गाँजा करिब ८४ केजी फेला पारी वीरबाहदुर कार्की,भारत कुटहरा बस्ने २४ वर्षीय प्रबिण पासवान र भारत कटापुर बस्ने २४ वर्षीय बिष्णु कान्त मिश्र समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै कैलालीको भजनी नगरपालिका-३ जस बहादुरघाटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्रामसहित दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका-१ बस्ने २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले स.७ प ३९२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

चितवन,राप्ती नगरपालिका-३ मुडेबास बस्ने २४ वर्षीय ज्ञान बहादुर प्रजालाई अवैध लागुऔषध गाँजा करिब १० केजीसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया