निर्वाचनमा उम्मेदवारभन्दा पार्टीको एजेण्डा मुख्य मुद्दा बन्नु पर्छ : महासचिव पोखरेल


बुटवल – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताएका छन् । उनले निर्वाचनमा उम्मेदवारले नभएर पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्ने बताएका छन् ।

एमाले लुम्बिनी प्रदेशको ‘मिसन ग्रासरुट’ समीक्षा बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउन जनमत वृद्वि गर्नुपर्नेमा जोड दिए । ‘चुनावमा जित्ने मात्र खोज्ने नीति, विचार नबुझेको मान्छे खोज्ने हो भने पार्टी सङ्गठनलाई बलियो बनाउन र स्थायित्व दिन सकिँदैन’, उनले भने, ‘अबको चुनाव पार्टीको नेतृत्वमा जनताबीच भिजेका, विचार राम्रोसँग बुझेका र परिवर्तनमा योगदान दिएका व्यक्तिलाई उम्मेदवार बनाउँछौँ ।’

महासचिव पोखरेलले निर्वाचनमा पैसावाला प्रवृत्ति हाबी हुँदै गएको उल्लेख गर्दै यसलाई रोक्नुपर्ने बताए । पैसावालाले मात्रै चुनाव जित्ने भनेर टिकट दिने प्रवृत्तिलाई फेर्नुपर्ने उनको भनाइ थियो । महासचिव पोखरेलले राजनीतिक अस्थिरता सिर्जना गर्न बलिया, पुराना राजनीतिक दल निर्माण हुन नदिने र कमजोर बनाउने खेल भइरहेको आरोप लगाए । ‘एमालेका हरेक नेता तथा कार्यकर्ताले जनताको सरोकारमा ध्यान पुर्‍याउन आवश्यक छ’, उनले भने, ‘जनताको चासोमा ध्यान दिन नसके उनीहरुसँगको सम्बन्ध टुट्छ ।’

प्रतिक्रिया