संवैधानिक परिषद बैठक : प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस


काठमाडौं – संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्णलाई नै प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत सिफारिस गरेको परिषद्का सदस्य राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

अब हरिकृष्णको संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि कामु प्रधानन्यायाधीश बनेका दीपककुमार कार्की पनि उमेर हदका कारण अवकाश भएपछि हाल उनकाे स्थानमा हरिकृष्ण छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।

प्रतिक्रिया