काठमाडौंमा मापदण्ड विपरीत सञ्चालित शैक्षिक मेला बन्द


काठमाडाैं – मापदण्ड विपरीत मेला आयोजना गरेको भन्दै काठमाडौं महानगरपालिकाले कान्तिपुर हिसान एडुफेयर बन्द गराएको छ ।

बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको (शैक्षिक मेला) को आठौं संस्करण महानगरले दिएको मापदण्डभन्दा विपरीत एसईईको नतिजा नै नआइकन विद्यार्थीलाई प्रलोभनमा पारेको पाइएको भन्दै मेला बन्द गराएको हो ।

काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेलामा एसईईको नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाका लागि लोभ्याउने, दबाब दिने कार्य गरेको पाएकाले मेला बन्द गराएको बताए ।

उनले एसईई र १२ कक्षाको नतिजा कुरेर बसेका विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेला अनधिकृत रूपमा सञ्चालन भएको बताए । उनले मेलामा विद्यार्थीलाई बोलाएर भर्ना प्रक्रियाको विषयमा जानकारी गराउने र भर्ना शुल्कको समेत विज्ञापन गरेको पाइएको बताए ।

मेला आयोजकले महानगरले अनावश्यक रूपमा मेला बन्द गराएको बताएको छ । मेला असार ३ गतेसम्म सञ्चालन हुने बताइएको थियो ।

प्रतिक्रिया