सापसको स्वर्ण महोत्सवमा १३ साधकहरु सम्मानित हुँदै


काठमाडौं – साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तेह्र विशिष्ट साधकलाई ‘सापस स्वर्ण महोत्सव सम्मान’द्वारा अभिनन्दन गरिने भएको छ ।

अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी, द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डी. आर. उपाध्याय रहेका छन् ।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । सो सम्मानका लागि वरिष्ठ साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ संयोजक र प्रमोद प्रधान र श्रीओम श्रेष्ठ “रोदन” सदस्य रहेको सिफारिस समिति बनेको थियो । उनीहरू सबैलाई आगामी साउन २९ गते अभिनन्दन गरिनेछ ।

वि. सं. २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले गत साउन १३ गते डा. जगमान गुरुङ, गीता केशरी र मदनदास श्रेष्ठको अभिनन्दन गरेको थियो । यसअघि वरिष्ठ साधकहरू धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमान मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जङ्गमलगायतको अभिनन्दन गरिसकेको छ ।

प्रतिक्रिया