पूर्व सचिव मैनाली भन्छन् – महंगो चीजमात्रै राम्रो हुन्छ भन्ने धारणा गलत छ


काठमाडाैं – नेपाल सरकारका पूर्व सचिव श्याम प्रसाद मैनालीले मेहनत गरे मात्रै हरेक क्षेत्रमा सफल हुन सकिने बताएका छन् । उनले सबै विषय उत्तिकै राम्रा र महत्वपुर्ण हुने तर विद्यार्थीले कुन विषय भन्दा पनि कति मेहनत गरेर पढ्छ भन्ने कुरा महत्वपुर्ण हुने बताए ।

काठमाडाैंको सुकेधारास्थित न्यु मिलिनियम कलेजमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा पूर्व सचिव मैनालीले भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण गरी उच्च माध्यामिक तहको शिक्षा अध्ययन तयारीमा रहेका विद्यार्थीलाई सफल व्यक्ति बन्न मार्गनिर्देश गरेका थिए । यसै क्रममा उनले भने, ‘महंगो चीजमात्रै राम्रो हुन्छ भन्ने धारणा पछिल्लो पुस्तामा बढी देखिएको छ, जुन गलत हो ।’ त्यसैले उनले अभिभावकसँग बढी खर्चका लागि जिद्द नगर्न विद्यार्थीलाई आह्रवान गरे ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा कलेजका अध्यक्ष मैनालीले आफ्नो अनुभव सुनाउँदै भने – हाम्रो पालाको एसएलसी साह्रै गाह्रो थियो अनि महत्व पनि थियो, त्यसैले एसएलसीलाई ‘आइरनगेट’ भन्ने गरिन्थ्यो । तर अहिले एसईई सहज भएको छ, महत्व पनि घटेको छ । यस्तै उनले पछिल्लो समय विद्यार्थीमा पढ्ने बानीमा कमी आएको प्रतिपनि चिन्ता व्यक्त गरे । मेहनतले मात्रै जुनसुकै क्षेत्रमा सफल हुन सकिने उनको तर्क छ ।

यस्तै कलेजका प्रमुख हरेराम शर्मा फुँयालले विद्यार्थीको लागि यो समय अति महत्वपुर्ण भएको बताए । उनले अबको २ वर्षमा विद्यार्थीले समयको सदुपयोग गर्न सके सुन्दर भविष्य निर्माण हुने हुनाले लगनका साथ अध्ययन गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा गायिका टिका प्रसाईँको सांगीतिक प्रस्तुतिले विद्यार्थीलाई हाैसला बढाएको थियो ।

प्रतिक्रिया