एमालेको कोशी अधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान


मोरङ – नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा निर्वाचन प्रक्रिया सुरू भएको छ । शुक्रबार सुरू भएको अधिवेशनमा राजनीतिक प्रतिवेदनहरूमाथिको छलफल सकिएपछि निर्वाचन कार्यतालिका प्रकाशन भएको छ ।

अधिवेशन एक दिन समय थप गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । अपरान्ह ४ः३० बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । साँझ ५ः३० बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन हुनेछ ।

६ः३० बजे सम्म उम्मेदवारउपर दाबीविरोध गर्ने समय रहेको छ । मतदान भने भोलि बिहान ११ बजेबाट हुनेछ । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ । जस अन्तर्गत एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव रहनेछन् ।

नेकपा एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्धाटन गरेका थिए । अधिवेशनबाट मोरङका विनोद ढकाल र घनश्याम खतिवडा अध्यक्ष बन्ने दौडमा छन् । एमाले अधिवेशनका लागि ९९७ जना प्रतिनिधि आएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटीका लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया