गृहमन्त्री लामिछाने भन्छन् – ‘सहकारी प्रकरणमा मेरो नाम मात्र उल्लेख छ, अन्य संलग्नता छैन’


काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम बाहेक केही नभएको बताएका छन् । संसद्को राज्यव्यवस्था समितिको आजको बैठकमा  उनले आफ्नै कुनै संलग्नता नरहेको बताएका हुन् ।

आज संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसदले उठाएको प्रश्नको जवाफ दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक संलग्नता नरहेको बताएका छन् ।

उनले यो विषयमा अदालतमा समेत मुद्दा दर्ता भएको आफूले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताएका छन् । गृहमन्त्री लामिछानेले यो विषयमा जहाँ प्रश्न उठ्छ त्यहि उत्तर दिने बताउँदै आफूमाथि उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।

‘सहकारीमा जहाँ मेरो नाम भनिएको छ । त्यहाँ नाम बाहेक केही छैन । हस्ताक्षर छैन । न ल्याप्चे छ । न मैले निवेदन दिएको छु । मेरो सामान्य केवाईसी भरिएको छ । त्यहाँ केही पनि भरिएको छैन । न अनुसन्धान भएको थाहा छ । त्यो मुद्दा अदालतमा दर्ता भएको छ । मुद्दामा म प्रतिवादी छैन । बयानमा मेरो नाम रवि लामिछाने भनेर उल्लेख पनि छैन,’ उनले भने, ‘जाहेरी छ जो प्रहरीले सूचनाको रुपमा लिएको जानकारी आएको छ ।’

राज्य व्यवस्था समितिमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले गृहमन्त्रीको राजीनामा माग गरेका थिए । सांसद बडूले सहकारी प्रकरणमा नाम मुछिएकाले गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुपर्ने बताएका थिए।

उनले छानबिनको निष्पक्षताका लागि गृहमन्त्री नै रवि लामिछाने हो भन्ने जनतालाई विश्वास दिलाउनका लागि भएपनि छानबिन अवधिमा बाहिर बस्न आग्रह समेत गरे । सांसदले बडूले सहकारीमा एक करोड जम्मा भएका रवि लामिछाने गृहमन्त्री हुन् या अन्य कोही व्यक्ति हुन् ? भन्दै प्रश्न समेत गरेका थिए ।

समितिमा लामिछानेले आफूले कुनै किसिमको राजनीतिक पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया