ताइवानमा ७.४ म्याग्निच्यूडको भूकम्प, छिमेकी देशहरुमा पनि सुनामीको चेतावनी


काठमाडाैं – ताइवानको पूर्वी तटीय क्षेत्रमा आज ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र छिमेकी देशहरुमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।

ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ । ताइवानका अधिकारीहरुले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् ।

ताइवानमा गएको भूकम्पपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको छ । सुनामीको छाल तीन मिटर अग्लो हुन सक्ने आशंका गरिएको छ । त्यस क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा लैजाने तयारी भएको छ ।

सन् २०११ को मार्चमा तोहोकुमा भूकम्प र त्यसपछि सुनामी आउँदा शुरुमा केही सेन्टिमिटरको छाल मात्रै भए पनि पछि डरलाग्दो सुनामीमा परिणत भएको स्मरण गराउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउन चेतावनी दिइएको खबरमा उल्लेख छ ।

यस्तै जापानपछि फिलिपिन्समा पनि सुनामीको चेतावनी दिइएको छ । ताइवानमा भूकम्प गएपछि फिलिपिन्समा तटीय क्षेत्र खाली गर्न निर्देशन दिईएको हो । ताइवानको भूकम्पले गराएको क्षतिबारे भने खबर आउन बाँकी रहेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया