जाजरकोट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या ६३ भन्दा बढी


काठमाडाैं – जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको मृत्यु पुष्टि भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार राति गएको भूकम्पमा जाजरकोटमा ३६ र रुकुम पश्चिममा २७ गरेर ६३ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

भूकम्पमा परी जाजरकोट नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको मृत्यु भएको छ । जाजरकोटमा उपमेयर सिंहसहित ३६ स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले जानकारी दिए ।

यता रुकुम पश्चिमका डिएसपी नवराज भट्टराईका अनुसार जिल्लामा २७ जनाको मृत्यु भएको पुष्टि भएको छ। उनका अनुसार सानीभेरी र जिल्ला अस्पतालमा गरेर ८५ जनाको उपचार भइराखेको छ । भूकम्पपछिको खुख्खा पहिरोले घाइतेको उद्धारमा कठिनाइ रहेको डिएसपी भट्टराईको भनाइ छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलकाे भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाडाैंसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।

प्रतिक्रिया