राप्रपाले गण्डकीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

सत्ता सङ्कट बढ्ने निश्चित


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको मत नदिने भएको छ । राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले विश्वासको मत नदिने बताए ।

उनले कसैलाई सत्ता टिकाउनका लागि राप्रपाले मत दिन नसक्ने बताएका हुन् । उनले  भने, ‘कार्यसम्पादन समितिको बैठकमा पनि गण्डकीको विषय उठेको थियो । सहयोग नगर्ने भन्ने नै भएको छ ।’ कसैलाई समर्थन दिनुपरेमा प्रदेश समितिसँग सल्लाह गर्ने उनले बताए ।

राप्रपाले मत नदिने भएपछि गण्डकीको सत्ता सङ्कट अझै बढ्ने निश्चित छ । सत्तारुढ दलहरू सभामुख मार्फत ३० सिटमै बहुमत घोषणा गराउने योजनामा छन् । दलको समर्थन अनुसार ३१ सिट मुख्यमन्त्रीको पक्षमा छ ।

तर सभामुखलाई सत्ताको जोडघटाउमा सामेल गर्न नमिल्ने संवैधानिक व्यवस्था छ । सर्वोच्चले सभामुखलाई बाहिर राखेर गण्डकीमा ५९ सांसदले मत हाल्ने र सोही मतको बहुमत ३० सिट हुने गरी व्याख्या गरेको छ ।

प्रतिक्रिया