गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा, देशभर माैसम बदली


काठमाडौं – अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाँउमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज (बुधबार) दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया