डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जना पक्राउ


काठमाडौं – डाँका चोरी तथा लुटपाट गरी फरार रहेका ४ जना पक्राउ परेका छन् । क्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित डिल्ली बहादुर राउतको घरमा भएको डाँका चोरी तथा लुटपाटमा संलग्न रहि फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्‍वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएका ३० वर्षीय सुजन रसाईली तथा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भएका ३१ वर्षीय भिम बहादुर तामाङ, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-३ घर भई ललितपुर इमाडोल बस्ने ३६ वर्षीय मुना राज राई र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भई काठमाडौं महाराजगंज बस्ने ३८ वर्षीय कृष्ण बहादुर बोहोरा रहेका छन् ।

राउतको घरबाट असार ४ गते करिब २ करोड रूपैयाँ चोरी तथा लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता देखिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । राउतका मामा कुल बहादुर खत्रीले आफ्नो चिनजानका सुजन रसाईलीलाई राउतको घर रेक्की गर्न लगाई लुटपाट गर्ने योजनासहित रसाईली समेत ४ जना राउतको घरमा गई सिआईबीको प्रहरी हौँ भन्दै प्रहरीको परिचयपत्र र खुकुरी देखाई उक्त रकम लुटी भिम बहादुरको घर कोठामा गएर ५ जनाले बाँडफाड गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूबाट प्रहरीले नगद ३६ लाख ३६ हजार रूपैयाँ, घटनामा प्रयोग भएको बा.प्र.०२-०४० प ५५३८ र बा.प्र.०२-०३३ प ६१७४ नम्बरको मोटरसाइकल, मोबाईल १० थान, रकम बोक्न प्रयोग गरेको झोला २ थान, डाँका चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरू तथा जुत्ता ३ जोर र खुकुरी १ थान समेत बरामद गरेको छ ।

प्रतिक्रिया