पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन : मुख्य नाका नागढुङ्गामा गाडीको चाप


काठमाडाैं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेपछि चार दिनदेखि अलपत्र परेका गाडी काठमाण्डौ भित्रिन र केही गाडी नागढुङ्गा हुँदै बाहिरिन थालेसँगै सडकमा गाडीको चाप बढेको छ ।

सडक मर्मत भएसँगै दुईतर्फी नै सडक खुलाएर हिजो रात्रि बस सञ्चालनका लागि अनुमति दिइएको थियो । तर नागढुङ्गा-नौबिसे हुँदै मुग्लिनसम्म नै विभिन्न ठाउँमा ठूला पहिरोले ठाउँठाउँमा सडक एकतर्फी छ ।

काठमाडाैंबाट एकैपटक धेरै गाडी छुटेकाले ठूलो जाम परेको र यसको असरले काठमाडाैंको सडकमा समेत जामको समस्या रहेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडाैंको थानकोट, कलङ्की, बालाजु, पानीपोखरीलगायतका ठाउँमा गाडीको चाप छ ।

मुख्य पर्व दशैँ नजिकिँदै गर्दा राजमार्गमा गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । सडक बिग्रिएकोले पनि यात्रा गर्न निकै जोखिम भएकोले थप समस्या आउन नदिन अत्यावश्यक कामबाहेक यात्रामा ननिस्कन ट्राफिक प्रहरीले आग्रह गरेको छ । विकल्प भएसम्म वैकल्पिक सडकको प्रयोग गर्न पनि यात्रु र गाडी चालकलाई प्रहरीको अनुरोध छ ।

प्रतिक्रिया