प्रतिनिधिसभा निर्वाचन : रास्वपाको ५१ क्षेत्रमा अग्रता, अधिकांश उम्मेद्वारको मत दोब्बर भन्दा बढी
काठमाडाैं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना जारी छ । हालसम्म प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै स्थानमा अग्रता देखिएको छ ।
मतगणना भइरहँदा शीर्ष नेताहरूमध्ये नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले मात्र अग्रता लिइरहेका छन् ।
देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ६ हजार १०३ मतले पछि पारेका छन् । १४ हजार ६ सय ८५ मत गणना भइरहँदा बालेनले १० हजार १९० मत पाएका छन भने ओलीले ४ हजार ०८७ मत मात्रै प्राप्त गरेका छन् ।
यस्तै चितवन २ बाट रास्वपाका सभापति रवि लामिछानेले ३ हजार ९६३ मतसहित अग्रता बनाएका छन् । नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ९४७ मत पाएका छन् । अर्को चर्चित निर्वाचन क्षेत्र भक्तपुर २ मा एमालेका सचिव महेश बस्नेतलाई १ हजार ८ सय १९ मतले पछाडि पार्दै रास्वपाका राजीव खत्री ४ हजार ०८४ मतले अघि छन् ।
यसैगरी चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य सोविता गौतम ४ हजार ९४४ मतसहित अगाडि छन् । दुई पटक चितवनको भरतपुर महानगरपालिका प्रमुख बनेकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले २ हजार ९६० मत पाएकी छन् ।
काठमाडौं-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजुनाथ पाण्डे ८ हजार २८८ मतसहित अग्रता लिइरहेका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ५ हजार १५५ मतसहित पछाडि परेका छन् ।
काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना न्यौपाने निर्वाचित भएकी छन् । यससँगै रास्वपाले विजयीको खाता खोलेको छ ।
