काेराेना त्रासः शहरी क्षेत्रका विद्यालय बैशाख भर बन्द गर्ने सरकारको निर्णय


काठमाडौं – सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले विद्यालय बैशाख भर बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार बसेको बैठकले बैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्दै वैकल्पीक रुपमा पठनपाठन गराउन सिफारिस गरेको थियो ।

बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गराउन सम्भव नहुने तथा भीडभाड हुने क्षेत्रलाई बन्द गर्दै पठनपाठनलाई अनलाइन माध्यममा लैजाने निर्णय गरेको हो ।

काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, भरतपुर, काँकरभिट्टा, बिर्तामोड, दमक, बिराटनगर, इटहरी, धरान, बीरगंज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज, धनगढी, भीमदत्त नगरजस्ता शहर र सदरमुकाममा भौतिकरुपमा उपस्थित नभई शैक्षिक गतिविधि २०७८ बैशाख मसान्तसम्म भर्चुअलरुपमा संचालन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने निर्णय गरिएको प्रवक्ता गुरूङले बताए ।

प्रतिक्रिया