लमजुङ कांग्रेस अधिवेशनमा काँही सर्वसम्मत नेतृत्व चयन, कतै जलाइयो मतपत्र
नेपाली कांग्रेस १४ औँ महाअधिवेशनअन्तर्गत जिल्लाका चार गाउँपालिकामा सहमतिका आधारमा अध्यक्ष चयन गरिएको छ । शनिबार सम्पन्न पालिका अधिवेशनबाट दूधपोखरीमा मेघराज गुरुङ, क्व्होलासोंथरमा पसबहादुर गुरुङ, मस्र्याङ्दीमा कृष्णबहादुर गुरुङ र दोर्दी गाउँपालिकामा भिक्षा घले सभापति चयन भएका हुन्।
मस्र्याङ्दी, क्व्होलासोथर र दोर्दी गाउँपालिकामा सर्वसम्मत चयन भएका उनीहरु यसअघि पनि सभापति थिए भने दूधपोखरीका सभापतिमा चयन भएका गुरुङ जिल्ला कार्यसमिति सदस्य हुन् ।
यहाँका चार नगरपालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ । बेँसीशहर, राइनास, सुन्दरबजार र मध्यनेपाल नगरपालिकामा मतदान भएको हो ।
कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलका अनुसार मध्यनेपाल नेपालबाट वसन्तराज घिमिर सभापतिमा निर्वाचित हुनुभएको छ । राइनासमा भने मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगन गरिएको जनाइएको छ ।
लमजुङमा जलाइयो मतपत्र, चुनाव अनिश्चित
सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबारदेखि स्थानीय तहको निर्वाचन शुरु भएको छ । केही ठाउँमा सर्वसम्मत रूपमा निर्वाचन सकिएको छ भने कतै मतगणना चल्दै छ ।
सोही क्रममा लमजुङको राइनास नगरपालिकामा भने कांग्रेस कार्यकर्ताले मतपत्र जलाएका छन् । २०२ क्षेत्रीय प्रतिनिधि रहेको सो नगर चुनावमा १२३ मत खसेपछि चुनाव नै रोकिएको छ ।