राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित कांग्रेस नेताद्वारा भेटवार्ता


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले भेटवार्ता गरेका छन् । भेटवार्ता विशेष गरी समसामयिक विषय नागरिकता विधेयकमा केन्द्रित रहेको थियो ।

संसद्को दुवै सदनबाट पारित नागरिकता विधेयकलाई राष्ट्रपतिले पुनर्विचार गरियोस् भनी संसद्लाई फिर्ता पठाएकी थिइन् । सो विधेयकलाई प्रतिनिधि सभाले जस्ताको त्यस्तै पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो ।

राष्ट्रिय सभाले उक्त विधेयकलाई संसदीय समितिमा पठाएपछि शीर्ष तहमा यो छलफल भएको हो । छलफलमा राष्ट्रपतिले संसद्का काम कारबाही र नागरिकता विधेयकका विषयमा चासो राखेको जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिए ।

छलफलमा प्रधानमन्त्रीको साथमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा सहभागी भएका थिए । महामन्त्री थापाका स्वकीय सचिव शैलेस सिटौलाका अनुसार राष्ट्रपतिसँग आगामी निर्वाचन र नागरिकता विषयमा छलफल केन्द्रित भएको थियो ।

प्रतिक्रिया