प्रधानमन्त्री देउवा दम्पती डडेल्धुराबाट सर्वसम्मत सिफारिस


डडेल्धुरा – नेपाली काँग्रेस डडेल्धुराले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सो पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सर्वसम्मतरुपले सिफारिस गरेको छ ।

शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले प्रतिनिधिसभा सदस्यमा पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको जिल्ला सहसचिव प्रेमबहादुर महराले जानकारी दिए ।

प्रधानमन्त्री देउवा एउटै निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट २०४८ सालदेखि लगातार छ पटक निर्वाचित हुँदै आएका छन् । सङ्घीय निर्वाचनको समानुपातिक महिला सदस्यमा प्रधानमन्त्री पत्नी एवं काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको नाम सिफारिस गरिएको पनि उनले बताए ।

नेत्री देउवाको नाम कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा एकल नाम सिफारिस भएको छ । उनी २०७४ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि क्षेत्र नम्बर ५ बाटै भएकी थिए ।

यसअघि बिहीबार क्षेत्रीय कार्य समितिले देउवाको नाम सर्वसम्मतरुपमा जिल्ला कार्य समितिलाई सिफारिस गरेको थियो । जिल्ला कार्य समिति डडेल्धुराले सङ्घीय निर्वाचनमा समानुपातिक पुरुष खसआर्य सदस्यतर्फ केन्द्रीय सदस्य नैनसिंह महर र जनक कलौनीको नाम सिफरिस गरेको छ । दलिततर्फ नरभान कामीको नाम सिफारिस गरिएको सहसचिव महरले जानकारी दिए । नैनसिंह महरलाई कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको सदस्यका लागि समेत सिफारिस गरिएको छ ।

डडेल्धुरा प्रदेशसभा सदस्य क्षेत्र ‘क’ मा जिल्ला सभापति भीम बहादुर साउद र ‘ख’ मा सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम सिफारिस गरिएको उनले जानकारी दिए । प्रदेश ‘क’ मा समानुपातिकतर्फ पुरुष खसआर्यबाट पूर्व जिल्ला सभापति रधुवर भट्ट, नेता गुणाकर चटौत, वीरबहादुर ठगुन्ना र जीतबहादुर विष्टको नाम सिफारिस गरिएको छ ।

महिलातर्फ कौशिलाकुमारी भट्ट, राजु भट्ट, कलावती बोहरा, वसन्तीदेवी पाण्डेय, जलाकुमारी विष्टको नाम सिफारिस गरिएको छ । दलित महिलातर्फ रत्नादेवी कामी र हरिनादेवी कामीको नाम सिफारिस गरिएको छ । यसैगरी, जनजाती, दलित, अपाङ्ग, अल्पसङ्ख्यकबाट बलबहादुर गुरुङ्ग र शंकर कामीको नाम सिफारिस गरिएको छ ।

प्रदेश ‘ख’ मा पुरुष खसआर्यबाट तारक बुढा ऐर, लितक जोशी, वीरबहादुर भाट, तेजबहादुर ऐर, नबलबहादुर मल्ल, नेत्रप्रसाद जोशी, गणेश पन्त, रत्न ऐर, मोहनराज पाठक, भोजराज भट्टको नाम सिफारिस गरिएको छ ।

महिलातर्फ सरस्वती खड्का, वसन्ती भण्डारी, दीपादेवी ऐर, टीकेश्वरी हमाल, सरस्वती अवस्थी ओझा र मानकुमारी थापाको नाम सिफारिस गरिएको । दलिततर्फ सन्तोष जैरु, चन्द्रे टमटा र गोपीराम कामीको नाम सिफरिस गरिएको सहसचिव महरले जानकारी दिए ।

प्रतिक्रिया