रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय


काठमाडौं – जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको कार्यकारिणी समितिको आज (बिहीबार) को बैठकले यादवलाई उपराष्ट्रपति उम्मेदवार उठाउने निर्णय भएको नेता प्रदीप यादवले जानकारी दिएका छन् ।

पूर्वमन्त्री यादव प्रतिनिधिसभामा जसपाको संसदीय दलको नेता हुन् । उनी बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । सत्ता गठबन्धनमा जसपाले उपराष्ट्रपति पाउने सहमति बनेको थियो । गठबन्धनको तर्फबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

यादवलाई उपराष्ट्रपतिमा पठाएर उपनिर्वाचनबाट संसद भवन प्रवेश गर्ने अध्यक्ष उपेन्द्र यादवको तयारी छ । जसपाले उपराष्ट्रपति पाउने सहमतिपछि अध्यक्ष यादवले उपनिर्वाचनको तयारी थालिसकेका छन् । अध्यक्ष यादव मंसिर ४ को निर्वाचनमा सप्तरी–२ मा जनमतका अध्यक्ष डा. सिके राउतसँग पराजित भएका थिए ।

प्रतिक्रिया