आजको माैसम : काठमाडाैंसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना


काठमाडाैं – माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी क्षेत्रमा पानी परिरहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हिजोदेखि पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।

उनका अनुसार काठमाडाैंमा भने हिजो बेलुका पछि पानी पर्न रोकिएको छ । तर,आज काठमाडाैंसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । काठमाडाैं उपत्यकामा दिउँसो पछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ ।

महाशाखाको पछिल्लो २० घण्टाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वर्षा काठमाडाैं उपत्यकामा भएको छ । उपत्यकामा यो अवधिमा ४३ मिलिमिटर पानी परेको तथ्याङ्कले देखाएको छ । पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ ।

हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ । भोलि पनि केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ । भोलि मधेस प्रदेशका एक/ दुई ठाउँमा हावाहुरी चल्ने अनुमानसमेत रहेको मौसमविद् नगरकोटीले जानकारी दिए।

प्रतिक्रिया