आजको माैसम : देशभर बदली, केही स्थानमा वर्षा


काठमाडाैं – हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशभरको माैसममा साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

हाल देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको हो । आज देशभर साधारणतया बदली रहने छ ।

यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षा र बाँकी भू-भागको थोरै स्थानहरूमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

भोलि (सोमबार)देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशभर हल्का देखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया