पूर्व माओवादी लडाकु कमाण्डर कालीबहादुर खाम पक्राउ
काठमाडौं – माओवादीका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् । व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरिएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले खाम पक्राउ परेको जानकारी दिए । उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए । रामेछाप घर भई काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीमाथि छ ।
२०६५ वैशाख १५ गते अपहरण गरी श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्याइएको थियो । अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो । सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको थियो ।
घटना छानबिनका लागि भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ । थापा खामकै अंगरक्षक थिए ।