मन्त्रिपरिषद्ले गर्‍यो १८ देशमा राजदूत सिफारिस


काठमाडाैं – सरकारले विभिन्न १८ देशका लागि राजदूतको सिफारिस गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताकाअनुसार मन्त्रिपरिषद्को बैठकले विभिन्न देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने र केही देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

अमेरिका, बेलायत, दक्षिण कोरिया, कतार, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, रुस, चीन, डेनमार्क, अस्ट्रेलिया, मलेसिया, साउदी अरब, इजरायल, जर्मनी, पोर्चुगलका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो सोमवार बसेको बैठकले भारतमा शंकर शर्मालाई निरन्तरता दिँदै चीनमा कृष्णप्रसाद ओली र अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको हो । मन्त्री गुप्ताकाअनुसार बैठकले विभिन्न पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने समेत निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले चीनका राजदूत विष्णुपुकार श्रेष्ठ, श्रीलङ्काका वासुदेव मिश्र, दक्षिण अफ्रिकाका दानबहादुर तामाङ, रुसका मिलन तुलाधर र अस्ट्रेलियाका राजदूत कैलाश पोखरेललाई फिर्ता बोलाउने निर्णय पनि गरेको हो । अघिल्लो सरकारले जेठ २४ मा भारत र अमेरिकालगायत ११ देशका राजदूतलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने निर्णय गरेको थियो ।

त्यसपछि असार ७ मा विभिन्न ८ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । तर, ओली सरकारले अघिल्लो सरकारबाट सिफारिस भएका राजदूतमा फेरबदल गरेको हो । औपचारिक रुपमा राजदूत नियुक्तिका लागि गरेको सिफारिस सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया