मनसुन पुनः सक्रिय, काठमाडौंसहित अधिकांश ठाउँमा रातिदेखि ठूलो वर्षा

३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

काठमाडौं – काठमाडौंसहित अधिकांश स्थानमा रातिदेखि नै ठूलो वर्षा भएको छ । मनसुनी वायुको प्रभावका कारण बागमती प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिममा वर्षा भएको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

रातिको समयमा मनसुन बढी सक्रिय भई पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ । सोमबारदेखि मनसुन पुनः सक्रिय हुँदै जाने मंगलबार र भोलि (बुधबार) मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । महाशाखाले विशेष बुलेटिन जारी गरी देशभर समान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

३४ जिल्लामा ‘रेड अलर्ट’ जारी

जिल्लागत मनसुनी वर्षाको उच्च जोखिममा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकोट र दोलखा रहेका छन् ।

वर्षाको उच्च जोखिममा गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची रहेका छन् । सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेका महाशाखाले जनाएको छ ।

यी दुई दिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सर्तकता अपनाउन सबैलाई महाशाखाको अुनरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *