आगजनीपछि अस्थायी टेन्टबाट सञ्चालनमा आयो सर्वोच्च अदालत
काठमाडौं – सर्वोच्च अदालतले आफ्नै भवन प्रयोग गर्न असम्भव भएपछि अदालत परिसरमै टेन्ट टाँगेर सेवा दिन सुरु गरेको छ । आन्दोलन र आगजनीका घटनाबाट प्रभावित सर्वोच्चको भवनमा क्षति पुगेपछि अस्थायी रूपमा अदालतले टेन्टमार्फत सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
आइतबारदेखि अदालतका कर्मचारी, न्यायाधीश र सरोकारवालाले टेन्टभित्रै दैनिक कामकाज थालनी गरेका छन् । सेवाग्राहीलाई असुविधा नहोस् भन्ने उद्देश्यले तत्कालको व्यवस्थापनस्वरूप टेन्ट प्रयोगमा ल्याइएको सर्वोच्चका एक कर्मचारीले जानकारी दिए ।
आन्दोलनकारीले सर्वोच्च अदालत परिसरमा आगजनी गर्दा भवनभित्रका कोठा र सरसामान नष्ट भएका थिए । क्षतिको मूल्यांकन भइरहेको र स्थायी समाधानको खोजी भइरहे पनि तत्काल सेवा अवरुद्ध हुन नदिन यस्तो अस्थायी व्यवस्था गरिएको सर्वोच्चले जनाएको छ ।
