मधेस प्रदेश सभाका सदस्यले आउँदो शुक्रबार शपथ लिने
जनकपुरधाम – मधेस प्रदेश सभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
प्रदेशसभामा आज बसेको सर्वदलीय बैठकमा यही पुस १५ गते शुक्रबार दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने सहमति भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले सदस्यको शपथ गराउने निश्चित भएको सचिव उनले बताए। शपथग्रहणका लागि दुई घण्टाअगावै निर्वाचित प्रदेशसभा सदस्यलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुन सचिवालयले आग्रह गरेको छ।
आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले तीन दिनअगावै प्रदेशसभा सचिवालयमा जानकारी गराउनुपर्ने जनाइएको छ।