सवारी लाइसेन्स नवीकरणको अवधि १० वर्ष गर्दैछाैँ : मन्त्री ज्वाला
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पु-याउने राष्ट्रिय गौरव र रुपान्तकारणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग पु-याउन सरकार तयार रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, विशेष र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा अस्तव्यस्त तुल्याउनेसँगको ठेक्का सम्झौता तोड्न पनि सरकार पछि नपर्ने चेतावनी दिएका हुन् ।
यातायात व्यवस्था सुधारको प्रयत्न अगाडि बढाइएको जनाउँदै मन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्र लिन लाइन लाग्नुपर्ने अवस्थालाई केही समयभित्र अन्त्य गरिने बताए । अनुमतिपत्र नवीकरणको अवधि १० वर्षमा राख्ने व्यवस्था गर्न कानुन संशोधन गर्न लागिएको उनको भनाइ छ ।
यात्री विद्युतीय मोटरसाइकल दर्ताको सम्बन्धमा सरोकारवालासँग छलफल गरी कार्यविधि संशोधनको तयारी गरिएको जनाउँदै उनले यातायात क्षेत्रमा सुधारका काम गरिएको र यसलाई तीव्र गतिमा अगाडि बढाउने बताए ।