सांस्कृतिक विविधताले नेपालीबीचको एकतालाई थप बलियो बनाउने राष्ट्रपतिको विश्वास

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले उभौली पर्वले देशको सांस्कृतिक विविधतालाई कायम राख्दै नेपाली नेपालीबीचको एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

किरात समुदायको उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले सबै समुदायका नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सांस्कृतिक ऐक्यबद्धताको भावना थप सुदृढ पार्न अभिप्रेरित गर्दै सभ्य, समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

‘किरात समुदायको महान् पर्व उभौलीको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’ उनको सन्देशमा भनिएको छ।

बुद्ध जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय

राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन्।

२५६७औँ बुद्ध जयन्तीको अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वाससमेत व्यक्त गरे ।

सन्देशमा भनिएको छ, ‘शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।’

उनले २५६७औँ बुद्ध जयन्तीको अवसरमा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *