नेपाल भ्रमण सकेर कतारका अमीर स्वदेश फिर्ता


काठमाडाैं – कतारका अमीर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार अमीर थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायत उच्च पदाधिकारी विमानस्थल पुगेका थिए ।

कतारका अमीरको बिदाइका अवसरमा नेपाली सेनाको टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो। उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार काठमाडौं आइपुगेका थिए ।

नेपाल र कतारबीच २१ जनवरी, १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले २१ जुलाई, २००० मा दोहामा राजदूतावास स्थापना गरेको थियो । त्यस्तै, कतारले सन् २०११ मा काठमाडौंमा राजदूतावास स्थापना गरेको थियो ।

प्रतिक्रिया