राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री सुनले गरे शिष्टाचार भेट


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको हो।

भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैं नेपालको विकास प्रयासमा योगदान पुर्‍याएको बताएका थिए । उनले नेपाल सन् २०२६ सम्म अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको सन्दर्भमा र त्यसपछि पनि चीनले थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले नेपाल र चीनबीच जनस्तरमा अत्यन्त सुमधुर सम्बन्ध रहिआएको उल्लेख गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायतले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन ठूलो योगदान दिएको पनि बताएका थिए। वार्ता दुई पक्षीय हित,सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यसअघि सोमबार चीनका उपविदेशमन्त्री सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए। उनीहरूबीच द्विपक्षीय सम्बन्ध,आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री सुन नेतृत्वको प्रतिनिधिभण्डल सोमबार नेपाल आएको हो ।

प्रतिक्रिया