पासाङ ल्हामुका श्रीमान पहिलो पटक सगरमाथाको चुचुरोमा

सोलुखुम्बु – पर्यटन व्यवसायी ल्हाक्पा सोनाम शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोण गरेका छन्। ल्हाक्पा सोनम शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्व. पासाङ ल्हामु शेर्पाका श्रीमान् हुन्। पासाङ ल्हामु शेर्पा चढेको ३० वर्षपछि सोनाम सगरमाथाको चुचुरोमा पुगेका हुन्।

बुधबार बिहान ७ बजेर ३४ मिनेटमा उनी सगरमाथाको चुचुरोमा पुगेको उनको परिवारले जानकारी दिएको छ। सोनाम शेर्पासँगै आरोहण टोलीमा जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनी पनि रहेका छन्।

मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका उनीहरूले हिजो साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए। सगरमाथाको आरोहणसँगै लाक्पा सोनाम शेर्पाले विश्वका सात महादेशका सबै अग्ला हिमालको सफल आरोहण पूरा गरेका छन्।

६३ वर्षीय शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन्। ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले हजारौं आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराएका छन्।

थमसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्षसमेत रहेका उनी होटल तथा जलविद्युतजस्ता व्यवसायमा संलग्न छन्। उनले यसअघि अन्टार्कटिकाको माउन्ट भिन्सन, ओशिनियाको माउन्ट पुनकक-माउन्ट कार्सटेन्ज, युरोपको माउन्ट एल्ब्रस, अफ्रिकाको माउन्ट किलिमन्जारो, उत्तर अमेरिकाको डेनाली र दक्षिण अमेरिकाको एकोनवागुआ हिमालको आरोहण गरिसकेका छन्। उनले युरोपको सर्वोच्च शिखर माउन्ट ब्लाङ्क, नेपालमा अन्नपूर्ण प्रथम हिमाल, धौलागिरी हिमाल र थमसेर्कु हिमालको आरोहण पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *