हतियार चोरी गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं – हतियार चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कागेश्वर मनोहरा नगरपालिका-१ गागलफेदी बस्ने प्रहरी नायव निरीक्षक प्रभाकर खड्काको घरबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र सोको गोली ७ राउण्ड चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुली गोलन्जार गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नारायणटार डेरा गरी बस्ने २४ वर्षीय मेघ बहादुर तामाङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-४ घर भई काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ डेरा गरी बस्ने २४ वर्षीय बासुदेव थामी रहेका छन् ।
प्रहरी नायव निरीक्षक खड्काको घरबाट गत असार ३१ गते राति उक्त हतियार चोरी भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा तामाङको डेरा कोठाबाट उक्त हतियार, मोबाइल ५ थान र नगद ६० हजार रुपैयाँसहित तामाङलाई पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उनकै भान्जा पर्ने थामीले उक्त हतियार राख्न दिएको खुल्न आएपछि थामीलाईसमेत तारकेश्वर फुटुङबाट गत शुक्रबार पक्राउ गरेको हो । उनीहरूउपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।