मनसुन न्यूनचापीय रेखा नेपाल नजिक, अझै केही दिन देशभर वर्षाको सम्भावना


काठमाडौं – मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेकाले अझै केही दिन देशैभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर बदली रहनुका साथै धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार, ‘मनसुन न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले केही दिनलाई देशभर बदली भई वर्षा हुने देखिन्छ’ । विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको उनले बताए ।

‘नेपालमा मनसुनी वायुका साथै भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ’, मौसमविद् लामिछानेले भने, ‘पछिल्लो एक घण्टादेखि देशभर बदली रहनुका साथै धेरै स्थानमा वर्षा भइरहेको छ ।’ उनका अनुसार कोशी, मधेस, बागमती, लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिउँसो कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै मधेस तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहनुका साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया